७ माघ २०८२, बुधबार
icon
निर्वाचन
७ माघ २०८२, बुधबार
icon
निर्वाचन

गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको चौतर्फी निन्दा

दक्षिणी गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको आक्रमणको चौतर्फी निन्दा भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यी पछिल्ला घटनाहरूले यस क्रूर द्वन्द्वमा आफ्नो कर्तव्य निर्वाह गर्दा चिकित्साकर्मी र पत्रकारले सामना गर्ने जोखिमहरूलाई उजागर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले ‘तत्काल र स्थायी युद्धविराम’ सहित आक्रमणको ‘निष्पक्ष अनुसन्धान’ को पनि माग गर्नुभएको छ ।

संयुक्त राष्ट्र प्यालेस्टाइन शरणार्थी एजेन्सी यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाजारिनीले पत्रकारको हत्याप्रति आक्रोश व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । उहाँले अनिकालको बीचमा चुपचाप मरिरहेका बालबालिकाको बारेमा रिपोर्ट गर्ने अन्तिम बाँकी आवाजहरूलाई मौन पारिएको बताउनुभएको छ ।

बेलायती विदेशमन्त्री डेभिड लामीले यस घातक आक्रमणबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमयानुएल म्याक्रोँनले यो आक्रमणलाई सहन नसकिने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणप्रति प्रतिक्रिया दिँदै यसबाट आफू खुशी नभएको उल्लेख गर्नुभएको छ ।

नासेर अस्पतालमा इजरायली आक्रमणमा ५ पत्रकारसहित कम्तीमा २० जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सन् २०२३ को अक्टोबरमा युद्ध शुरू भएदेखि गाजामा ज्यान गुमाउने पत्रकारको सङ्ख्या झन्डै २ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय