१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जेन–जी आन्दोलन र अबको बाटो

जेन–जीहरूको आन्दोलनका कारण उत्पन्न अहिलेको परिस्थितिबाट पार पाउन पुराना राजनीतिक दल र तिनका नेतृत्व नसच्चिई हुँदैहुन्न

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट उथलपुथल, हेरफेर ल्याउँछ

गोपालप्रसाद रिमालको विद्रोही चेतको यो कालजयी कविता नेपालको सन्दर्भमा यही २३ र २४ भदौमा चरितार्थ भयो ।

२२ भदौका दिन बाँचुन्जेल पार्टी अध्यक्ष भइरहने अवस्था बनाएका वेला विजय–उन्मादमा ‘झोलेहरूका राजनेता’ एवं मुलुकका प्रधानमन्त्री केपी ओलीले विधान महाधिवेशनको समापन समारोहमा आफूले सामाजिक सञ्लालमा लगाएको प्रतिबन्ध र मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले भोलिपल्ट गर्ने भएको आन्दोलनलक्षित सम्बोधनलाई यहाँ दोहोर्‍याऊँ । उनले भनेका थिए, ‘जेन–जी पुस्तालाई पिर पर्‍यो रे, राम्रो लागेन रे ! जेन–जी पुस्ता कुनै ठगीखाने भाँडो हो ? …त्यसको नाम लिएर जे पनि गर्न पाइन्छ ? …सुन्दै छु, भोलितिर जेन–जी पुस्ताको विद्रोह रे !’ राज्य–दोहनको रसास्वादनमा लिप्त र परम ‘हब्रिस’ नेताबाट यसभन्दा बढी अरू के नै अपेक्षा गर्न सकिन्थ्यो र ?

आन्दोलनको गलत आकलन : जेन–जी आन्दोलनलाई हियाएर कम आँक्नु र त्यसको व्यवस्थापनमा हुनुपर्ने जति सुरक्षा तयारी नहुनु नै यो ‘डिजास्टर’को प्रमुख कारण थियो । टिभीमा आन्दोलनको ‘आँखों देखा हाल’ हेर्दा प्रस्ट के बुझिन्थ्यो भने सुरक्षा निकायले १५ चैतको राजावादीको आन्दोलनको व्यवस्थापनको भन्दा अत्यन्त निम्छरो तयारी गरेका थिए । जब शान्तिपूर्ण आन्दोलन ब्यारिकेड तोडेर संसद् भवनपरिसरमा पस्यो अनि अत्तालिएका सुरक्षाबलले एक्कासि दमनमा सबै उपाय एकैपल्ट प्रयोग गरे । परिणामस्वरूप नेपालको इतिहासमा कुनै पनि आन्दोलनमा एकै दिन भएको हताहतीको सबै सीमा पार गर्‍यो र उन्नाइस होनहार युवाले एकै दिन, एकै छिन र एकै स्थलमा सहादत प्राप्त गरे ।

यति भइसकेपछि पनि यदि त्यही साँझ प्रधानमन्त्रीले यसको नैतिक जिम्मेवारी लिएर राजीनामा गर्ने सदासयता देखाएका भए सम्भवत: भदौ २४ को विध्वंस मच्चिने थिएन र थप जनधनको क्षति हुने थिएन । र, राज्यका तीनै अंग ‘छानाविहीन’ हुने थिएनन् । तर, उनी आफ्नो त के कुरा गृहमन्त्रीलाई पनि राजीनामा दिनबाट रोक्दै थिए । ताज्जुबको कुरा के थियो भने उनी त्यही साँझ बसेको क्याबिनेट बैठकमा सुरक्षा निकायले गोली चलाएको मान्नसमेत तयार थिएनन् । उनी सिनामंगलतिरबाट आएका अज्ञात समूहको गोलीले यो विध्वंस भएको ‘ब्रिफिङ गर्दै थिए । उनको बस चल्थ्यो भने केही महिनाअघि भिजिट भिसामा जानेहरूसँग दैनिक लाखौँको अवैध असुली धन्दालाई लिएर विपक्षीले संसद्मा गृहमन्त्रीको राजीनामा माग गर्दा कर्मचारीले घुस खाँदा मन्त्रीको राजीनामा माग्ने ? भनेर प्रधानमन्त्री च्याँठ्ठिएझैँ यहाँ पनि सुरक्षा फौजले गोली हान्ने अनि गृहमन्त्री र मैले राजीनामा दिनुपर्ने ? भनेर च्याँठ्ठिन्थे होला । नैतिक जिम्मेवारीको महत्व र मूल्य बुझ्ने न उनको समझ देखियो, न हिम्मत नै । समझ हुँदो हो त आन्दोलनको अघिल्लो दिन जेन–जी आन्दोलनलाई त्यसरी उडाउनुको सट्टा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने थिए । त्यसो गरेका भए न राज्य–निर्देशित यस्तो बर्बर जनसंहार हुन्थ्यो, न मुलुकभरि सार्वजनिक सम्पत्ति, न राज्यदोहनबाट ठड्याइएका नेताका महल, न व्यावसायिक घरानाका सम्पत्ति यसरी ‘धुँ धुँ’ गरेर जल्ने थिए ।

कहाँ भयो चुक ? : अघिल्लै दिनको जनसंहारमा युवाको रगतले हात रंगिएको नेपाल प्रहरीको मनोबल भोलिपल्ट यति गिरेको थियो कि उसले आफ्नो त रक्षा गर्न सकेन भने उसबाट सार्वजनिक सम्पत्तिको रक्षाको अपेक्षा गर्नु मूर्खता थियो । जस्तो कि चुहिएर आएको सूचनाले के भन्छ भने भोलिपल्ट पनि प्रधानमन्त्री ओली त्यसवेला मात्र राजीनामा गर्न तयार भए, जब भिड बालुवाटारको गेटमा आयो र चारैवटा सुरक्षा निकायका प्रमुखले तपाईंले अब पनि राजीनामा नगर्ने हो भने हामी तपाईंको सुरक्षा गर्न सक्दैनौँ भने । उनको राजीनामा र उद्धार सँगसँगै भयो र सेना बाँकी नेता र मन्त्रीको उद्धारमा जुट्यो ।

वास्तवमा अघिल्लै दिन भएको ज्यातदीबाट जनतामा उठेको स्वाभाविक आक्रोश र त्यसमा मिसिएको ‘राउडी’हरूको हिंसात्मक कृत्यको रोकथाम गर्न नेपाल प्रहरीले नसकेको अवस्थामा यदि राति १० बजेको सट्टा दिउँसै नेपाली सेना सडकमा ओर्लेको भए यतिविधि जनधनको क्षति हुने थिएन, तर त्यसो हुन सकेन । त्यसमा नेपाली सेनाभित्रको आन्तरिक ‘डाइनामिक्स’ के थियो ? त्यो अहिले नै थाहा नभए पनि समयक्रममा खुल्दै जाला । तर, जे नहुनुपर्ने थियो, त्यो भयो । यतिवेला आएर अब यसो गरेको भए हुन्थ्यो वा उसो गरेको भए हुन्थ्यो भन्नुको कुनै तुक छैन ।

हल्लाको गरम बजार : प्रधानमन्त्री ओलीको राजीनामा र राष्ट्रपति रामचन्द्र पौडेलको सार्वजनिक वक्तव्य नआउन्जेलको अवधिमा नेपाली राजनीतिमा हल्लाको बजार अत्यन्त गरम रह्यो । ठाउँ कुठाउँबाट हल्लाका अनेक पकवान पकाइए र पस्किए पनि । जस्तो कि जेन–जीहरू त मोहरा मात्र हुन्, यसको पछाडि सिआइएको हात छ, भारतको हात छ, राजावादीहरू छन्, नेपाली सेना छ आदि, आदि । यसो हुनुको एउटा कारण स्वयं जेन–जीहरूको असंगठित अवस्था र तिनको राजनीतिक केटौलेपन त जिम्मेवार थियो नै, साथमा षड्यन्त्रको सिद्धान्त पकाउन खप्पिस नेपालीको मनोविज्ञान पनि जिम्मेवार थियो । अझ, प्रधानमन्त्रीको राजीनामापछि तत्काल राष्ट्रपतिको जुन स्वाभाविक ‘जेस्चर’ हुनुपथ्र्यो, त्यो भएन । यसले उनी पनि सेनाको कब्जामा छन्, उनलाई पनि सेनाले राजीनामा गर्न दवाब दियो, सेना कु गर्न चाहन्छ, सेना राजालाई फर्काउन चाहन्छ जस्ता अनर्गल हल्लाले जनमानसको दिमाग भुटियो ।

तर, यो स्तम्भकारको स्पष्ट मान्यता के थियो भने नेपाली सेना पूर्णत: व्यावसायिक छ, उसमा पाकिस्तान वा बंगलादेशका सेनाजस्तो राजनीतिमा रुचि छैन । उसको तत्काल जसको हातमा शक्ति छ, उसकै कमान्डमा रहने र मुलुकको अधिकतम हितमा काम गर्न सदा सर्वदा तत्पर रहने ‘ट्र्याक रेकर्ड’ छ । यसको ज्वलन्त दृष्टान्त सात सालअघि र पछि अनि त्यस्तै त्रिसठ्ठी सालअघि र पछिका उसको भूमिका नै हो ।

आक्षेप र यथार्थ : अन्योल र आशंकाको माहोल चिर्दै जब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीको शपथ लिइन्, नेपाली जनताले नागरिक सरकार पाएकोमा राहतको सास फेरे, भलै त्यसका लागि जेन–जी आन्दोलनकारीको मागबमोजिम प्रतिनिधिसभाको विघटन भई नयाँ जनादेशका लागि अर्को आमनिर्वाचन हुने घोषणा भएको किन न होस् ? राजनीतिक आन्दोलन वा विद्रोह संविधानको धारा हेरेर हुँदैन, न त त्यो राजनीतिशास्त्रको सिद्धान्त पढेर हुन्छ । वस्तुत: त्यसैले संविधानको पुनर्लेखन गर्छ र नयाँ सिद्धान्तको भावभूमि तयार गर्छ । तर, यो यथार्थबाट मुख मोडेर भनौँ या बुझ पचाएर, जब सात राजनीतिक दलका प्रमुख सचेतक र एक दलका अध्यक्षले संयुक्त अपीलमार्फत राष्ट्रपतिमाथि संविधान उल्लंघनको आरोप लगाए र विघटित प्रतिनिधिसभाको बैठक बोलाएर संसद्बाटै जेन–जीका माग सम्बोधन गर्ने तर्क गरे अनि त्यसको प्रत्युत्तरमा राष्ट्रपतिले मुख खोल्नुपर्‍यो ।

आफ्नो अपिलमा उनी देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् यो शान्तिपूर्ण निकास निस्किएको बताउँछन् । उनी थप भन्छन्– संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । तसर्थ, बडो जुक्तिले प्राप्त यो अवसरको सदुपयोग गर्दै आगामी २१ फागुनमा हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई हार्दिक अपिल गर्छु । जनआक्रोशबाट बच्न सेनाको सहायतामा सैनिक ब्यारेकमा बस्न विवश यी दलका प्रमुख नेताका अनुचरको फत्तुरलाई योभन्दा यथार्थपरक र मार्मिक जवाफ अरू के हुन सक्छ ?

जेन–जीहरूको नयाँ प्रयोग : यसपटकको आन्दोलन र त्यसयता प्रधानमन्त्री तथा मन्त्री चयनमा जेन–जीहरूले नितान्त नयाँ प्रयोग गरेका छन् । सोसल मिडियामा समूह बनाएर अजेन्डा तय, आन्दोलनको आह्वान एवं सञ्चालन र त्यसैका माध्यमबाट मतदान गरेर प्रधानमन्त्री र मन्त्रीको चयन यो समकालीन राजनीतिमा उनीहरूले प्रयोग गरेको अत्यन्त भिन्न तौरतरिका हो । आगामी दिनमा पनि यही विधि प्रयोग गरेर उनीहरूले संगठन बनाए र आगामी निर्वाचनमा यसको प्रयोग गरे भने नेपाली राजनीतिको धारा नै बदलिने अवस्था देखिन्छ ।

तत्काल गर्नुपर्ने काम : तत्काल गर्नुपर्ने कामको सूची नै बनाउने हो भने त्यो लामो हुन सक्ला । तर, मेरो विचारमा आन्दोलनको दमनमा भएको अत्यधिक बल प्रयोग र अर्को दिन भएको जनधनको ध्वंसको छानबिन गरी वास्तविक दोषीलाई न्यायको कठघरामा उभ्याउन उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनु नै प्रमुख काम हुनुपर्छ । गोली चलाउनेलाई भन्दा गोली चलाउन आदेश दिने राजनीतिक नेतृत्वलाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्छ, ताकि आगामी दिनमा कुनै सनकी शासकले मुुलुकमा यस्तो वितण्डा मच्चाउन नसकोस् ।

हुन त संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र २०४६ सालयता राजकीय जिम्मेवारीमा पुगेका नेता तथा प्रशासकले गरेको राज्यदोहनको छानबिनको मुद्दा पनि जोडदार रूपमा उठेको छ । तर, यी काम नयाँ जनादेशबाट गठन भएको सरकारको जिम्मा दिनु व्यावहारिक हुन्छ । होइन भने आमनिर्वाचनको कार्यसूचीबाट यो सरकारको ध्यान अन्यत्र मोडिने खतरा रहन्छ र अस्थिरतामा खेल्न रुचाउने शक्तिको अभीष्ट पूरा हुने अवस्था आउँछ ।

दलहरूको नसच्चिने लक्षण : केही वर्षदेखि नै नेपाली राजनीतिमा जोडतोडले उठिरहेको मुद्दा भनेको प्रमुख राजनीतिक दलमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा हो । हिजो त्यो भएन । तर, जेन–जीको आन्दोलनका कारण उत्पन्न यो परिस्थितिबाट पार पाउन यी राजनीतिक दल नसच्चिई हुँदै हुन्न । नेतृत्वमा गजधम्म भई बसेका दलका मठाधीशले नेतृत्व परित्याग गर्ने कुनै छाँट त देखाएनन् नै । ताज्जुबको कुरा त के भने ती दलका युवापुस्ताले पनि संगठित रूपमा नेतृत्व दाबी गर्ने आँट गरेनन् ।

यो विरक्तलाग्दो अवस्थामा ती दलका मठाधीशलाई ‘झट्का उपचार’ दिने अभिभारा पनि यिनै जेन–जी पुस्ताका युवा मतदाताको हो । समयमै निर्वाचन भयो भने ताजा जनादेशको प्रतिनिधिसभा नै अबको आशाको केन्द्र हो । छिटो चुस्त सरकार बनाएर समयमै निर्वाचनमा होमिनु नै यो सरकार र जेन–जी युवाको मकसद हुनुपर्छ । यिनलाई अब असफल हुने र अल्मलिने छुट छैन । #नयाँ पत्रिका

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय