अस्ट्रेलियामा फेरि एकपटक त्रासदी बढेको छ । राजनीतिक वर्ग उही थकित, बेइमान प्रक्रियाका लागि आतुर छन् । त्यो हो बन्दुकसम्बन्धी नियममा परिमार्जनको बहस । १४ डिसेम्बरमा सिड्नीको बोन्डी तटमा भएको भयानक नरसंहार (जहाँ ययुदी परिवार मैनबत्ती बाल्ने समारोहमा भेला भएका थिए) लगत्तै अस्ट्रेलियाका अभिजात वर्गले आफ्नो मनपर्ने विषय– ‘बन्दुकमाथि नियन्त्रणको बहस’ लम्ब्याउने आवश्यकता ठानेनन् । कडा प्रतिबन्ध र राज्यका तर्फबाट बन्दुक नियन्त्रणबारे थप आह्वान आउनुअघि नै सामूहिक गोलाबारीको रगतका टाटा मुस्किलले सुकेका थिए । यसको अर्थ यो होइन कि यदि कानुन पालन गर्ने नागरिकको बन्दुकसम्बन्धी अधिकारलाई थप कटौती गरिदिएको भए पछिल्लो दुष्टतालाई कुनै न कुनै रूपमा रोक्न सकिन्थ्यो । यो कदापि होइन । यो प्रतिबिम्ब केवल गलत मात्र होइन, विकृत पनि छ । वास्तवमा बन्दुकसम्बन्धी उसको कठोर नियमका लागि अस्ट्रेलिया पहिले नै विश्वमा चर्चित छ । बन्दुकका मामिलामा यहाँ पहिल्यै निकै कडा कानुन छ । अर्थात् लगभग तीन दशकदेखि अस्ट्रेलियालीहरू सबैभन्दा कठोर प्रतिबन्धात्मक बन्दुक कानुनअन्तर्गत बाँचिरहेका छन् । अर्धस्वचालित बन्दुक धेरै हदसम्म प्रतिबन्धित नै छन् । इजाजतपत्र पाउनै गाह्रो छ । हतियारका वर्ग पूर्ण रूपमा निषेधित छन् । यदि बन्दुक नियन्त्रण रामवाण उपाय थियो भने सुरक्षाका दृष्टिले अस्ट्रेलिया विश्वमै उपयुक्त मोडेल हुनुपर्ने हो ।
बोन्डी तटमा बन्दुक नियन्त्रणसम्बन्धी कानुन असफल भयो किनभने यो अपर्याप्त थियो । अपर्याप्त यस अर्थमा कि निर्जीव वस्तुलाई लक्षित कानुन प्राय: मानव दुष्टतासामु शक्तिहीन हुन्छन् । हालैका वर्षमा पश्चिमका अन्य मुलुकमा जस्तै यो आक्रमण कट्टरपन्थी इस्लामवादी विचारधाराको परिणामको कारण थियो, एक अधिनायकवाद जसले सामूहिक हत्यालाई जायज ठहर्याउन इस्लामिक धर्मशास्त्रीय भाषालाई हतियार बनाउँछ । अर्थात् कुनै पनि गोलाबारीलाई उपयुक्त ठहर गर्न उसले मुस्लिम धर्मको सहारा लिन्छ । पश्चिमा सरकारले यो अस्तित्वगत खतरालाई स्पष्ट रूपमा सामना गर्न अस्वीकार गर्दै दशकौँ समय बिताएका छन् ।
त्यो अस्वीकारका परिणाम धेरै छन् । वर्षौँदेखि अस्ट्रेलियाली अधिकारीले युरोप र उत्तरी अमेरिकाका आफ्ना समकक्षीजस्तै स्पष्टताको सट्टा अप्रिय कुरालाई प्राथमिकता दिँदै आएका छन् । जस्तै: बन्दुकसम्बन्धी आक्रमण वा सामूहिक गोलाबारीलाई विभिन्न उपमा दिने चलन नयाँ होइन । ‘एक्लो ब्वाँसो’, ‘मानसिक स्वास्थ्यसम्बन्धी घटना’, ‘हामीलाई वास्तविक उद्देश्य कहिल्यै थाहा हुनेछैन’ इत्यादि । केही वामपन्थीले बन्दुक नियन्त्रणको विषयलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न उपयोग गर्छन् । यसले अभिजात वर्गलाई नैतिक रूपमा मुद्रा सहज बनाउन अनुमति दिन्छ । तर, यसले जटिल र बढी दबाबपूर्ण प्रश्नलाई बेवास्ता गर्छ : किन कट्टरपन्थी इस्लामवादी नेटवर्क पश्चिमी समाजभित्र स्वतन्त्र रूपमा सञ्चालित हुन सक्षम छन् ? किन सीमा र आप्रवासन नीतिले आधारभूत राष्ट्रिय सुरक्षाभन्दा ‘खुलापन’ र ‘समावेशिता’लाई निरन्तर प्राथमिकता दिन्छ ? किन इस्लामिक अतिवादको कुनै पनि छानबिनलाई अझै पनि ‘घृणा’ भनेर तुरुन्तै खारेज गरिन्छ ?
यी त्यस्ता प्रश्न हुन् जसले वास्तवमा जीवन बचाउन सक्छ । र, यी त्यस्ता प्रश्न हुन्, जुन बन्दुक नियन्त्रणका वकालतकर्ताले बारम्बार उठाउँछन् । बिडम्बना यो हो कि अस्ट्रेलियाको बन्दुक शासनले साधारण नागरिकलाई विशिष्ट रूपमा कमजोर बनाउँछ । जब राज्यले आत्मरक्षाका साधनमा एकाधिकार राख्छ, यसले पूर्ण सुरक्षा प्रदान गर्ने नैतिक दायित्व ग्रहण गर्छ । तर, यो दायित्व कुनै पनि सरकारले पूरा गर्न सकेका छैनन् । बोन्डी तटमा कानुन पालन गर्नेहरू सुरक्षाविहीन थिए किनभने तिनीहरूमा करुणा वा अनुपालनको कमी थिएन, तर तिनीहरूको सरकारले धेरै पहिले निर्णय गरेको थियो कि तिनीहरूको सुरक्षाको सुनिश्चितता सरकारले गर्न सक्दैन ।
इतिहासले स्पष्ट पाठ सिकाउँछ– निशस्त्रीकरणले दुष्टहरूलाई निशस्त्र गर्दैन । निशस्त्रीकरण वा बन्दुकसम्बन्धी कानुनले मानिसको दुष्ट आचरणलाई नियन्त्रण गर्न सक्दैन । यसले सभ्य, कानुन पालन गर्नेहरूलाई निशस्त्र बनाउँछ । यदि अस्ट्रेलियाली नेताहरूले साँच्चै यस अत्याचारका पीडितलाई सम्मान गर्न चाहन्छन् भने तिनले प्रतीकात्मक कानुनकोे प्रतिरोध गर्नुपर्छ । समस्या यो होइन कि अस्ट्रेलियालीसँग धेरै बन्दुक छन् । समस्या यो हो कि उनीहरूसँग पश्चिमा कट्टरपन्थी इस्लामाबादको सामना गर्ने साहस धेरै कम छ, जति उसलाई आवश्यक छ– आक्रामक गुप्तचर कार्य, आप्रवासन प्रवर्तन, वैचारिक स्पष्टता, र बर्बरताविरुद्ध सभ्यताको रक्षा । बन्दुक नियन्त्रण बहाना हो । इस्लामिक अतिवाद खतरा हो । जबसम्म अस्ट्रेलियाका नेताहरूले यो भिन्नता बुझ्दैनन् तबसम्म सबै गलत अभिप्रायका लागि मैनबत्ती पुन: प्रज्वलित भइरहनेछन् ।
