२१ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन
२१ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले लिए शपथ

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार ढाकामा विशेष समारोहकाबीच बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन्। बंगलादेशमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदै आएको थियो। यसपालि संसद भवनको परिसरमा खुला आकाशमुनी मञ्च बनाएर प्रधानमन्त्री रहमानले सपथ लिएका हुन्।

उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहणपछि प्रधानमन्त्री रहमानले जुनसुकै मूल्यमा मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले समर्थकहरूलाई बदलाभाव नराख्न चेतावनी समेत दिए। सरकारले कुनै पनि प्रकारको अराजकता नसहने बताए।

फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको थियो। यसपालिको निर्वाचनमा शेख हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो।

शपथ ग्रहण समारोहमा विभिन्न मुलुकबाट सरकारका प्रतिनिधिहरूलाई पनि  निमन्त्रणा दिएको थियो। नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए।

बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार प्रधानमन्त्रीले शपथ लिएपछि अन्य २५ मन्त्री र २४ जना राज्यमन्त्रीहरूले पनि शपथ लिएका छन्।

१७ वर्षपछि बंगलादेश फर्किएर सिधै सत्तामा पुगेका तारिक

तारिक बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।

सन् १९८१ मा राष्ट्रपति रहँदै जियाउर रहमानको हत्या भएपछि बिएनपीको नेतृत्व खालिदा जियाले गरेकी थिइन्। तारिक पार्टीका कार्यवाहक अध्यक्ष थिए। उनी लण्डनबाटै पार्टी सञ्चालन गर्थे।

एक महिनाअघि मात्रै आमाको निधन भएपछि बिएनपीको नेतृत्व तारिकको काँधमा आइपुगेको हो।

१९६८ मा जन्मिएका तारिकले प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहिन कलेजमा लिएका थिए।  ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अध्ययन थाले पनि पूरा गर्न सकेनन्। शैक्षिक योग्यतामा उनले उच्च माध्यमिक तह (१२ कक्षा) मात्रै उल्लेख गरेका छन्।

तारिक सन् १९८८ औपचारिक रूपमा बिएनपीको राजनीतिमा लागेका थिए भने २००१ को संसदीय निर्वाचनपछि पार्टीभित्र प्रभावशाली बन्दै गएका थिए।

त्यही अवधिमा उनीमाथि ‘हवा भवन’ प्रकरणसहित विभिन्न भ्रष्टाचार आरोप लागेको थियो। सन् २००७ मा सेना समर्थित सरकारको समयमा उनलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो। त्यतिबेला उनी करिब १८ महिना जेल बसे।

रिहाइपछि सन् २००८ मा परिवारसहित लन्डन प्रस्थान गरेका उनी करिब १७ वर्ष त्यहीँ रहे। पछि उनले बेलायतमा राजनीतिक शरण लिएको तथ्य पनि सार्वजनिक भएको थियो।

गत वर्ष डिसेम्बरमा आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी ढाका फर्किएका थिए। खालिदा जियाको निधनपछि बिएनपीको स्थायी समितिले औपचारिक रूपमा उनलाई पार्टी अध्यक्ष चयन गरेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय