ग्रीक दार्शनिक प्लेटोका अनुसार ‘जब जनताको भावनालाई खुसी पार्ने नेताहरूले सत्य र ज्ञानभन्दा लोकप्रियता रोज्छन्, तब लोकतन्त्र भीडतन्त्रमा बदलिन्छ ।’ यसको अर्थ जब राजनीतिक नेतृत्व विवेक, ज्ञान र दीर्घकालीन सोचभन्दा भावनात्मक नारा र क्षणिक लोकप्रियतालाई प्राथमिकता दिन थाल्छ, तब लोकतान्त्रिक निर्णय प्रक्रिया कमजोर भई जनइच्छा भीडको आवेगमा सीमित हुन पुग्छ ।
यदि यही प्रवृत्ति निरन्तर रहिरह्यो भने, के नेपालमा लोकतन्त्र विचार, नीति र उत्तरदायित्वमा आधारित रहनेछ वा भावनात्मक नारा र भीडको तात्कालिक चाहनाले निर्देशित लोकवादी राजनीतिले भविष्यमा लोकतान्त्रिक संस्थाहरूलाई नै कमजोर बनाउने परिस्थिति निर्माण गर्नेछ ?
नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा एउटा चिन्ताजनक प्रवृत्ति तीव्र रूपमा देखिन थालेको छ । राजनीति अब विचार, नीति र दीर्घकालीन दृष्टिकोणको प्रतिस्पर्धा होइन, भीड प्रदर्शनको खेल बन्दै गएको छ । राजनीतिक दलको हैसियत, नेताको प्रभाव र आन्दोलनको वैधता बहस र सिद्धान्तबाट होइन, सडकमा कति मानिस उतार्न सकियो भन्ने आधारमा मापन हुन थालेको छ । यही प्रवृत्तिले लोकतन्त्रको आत्मालाई कमजोर बनाइरहेको छ ।
लोकतन्त्रको सार नागरिकको विवेकशील सहभागिता हो । जहाा मतदाता विचारका आधारमा निर्णय गर्छन्, दलहरू नीति र कार्यक्रममार्फत प्रतिस्पर्धा गर्छन् र मिडिया सार्वजनिक बहसको जिम्मेवार मञ्च बन्छ । तर आजको नेपाली राजनीतिक यथार्थ यस आदर्शबाट क्रमश टाढिँदै गएको देखिन्छ । विशेषत साना र नयाँ दलहरूका लागि राजनीतिक मान्यता प्राप्त गर्ने मुख्य सर्त नै ‘भीड देखाउन सक्ने क्षमता’ जस्तो बनेको छ । वैचारिक स्पष्टता, नीतिगत प्रस्ताव वा संस्थागत परिपक्वताभन्दा ठूलो सभा, नाराबाजी र प्रदर्शनलाई राजनीतिक शक्ति प्रमाणित गर्ने माध्यम बनाइएको छ ।
यो प्रवृत्ति आकस्मिक होइन । दशकौंदेखि स्थापित दलहरूले जनविश्वास गुमाउँदै जाँदा उत्पन्न भएको राजनीतिक रिक्तता नयाँ दल र अभियानहरूले भरिरहेका छन् । तर दुर्भाग्यवश, धेरैजसोले वैकल्पिक राजनीति निर्माण गर्नुको सट्टा पुरानै शैलीलाई अझ आक्रामक रूपमा अपनाएका छन् । परिणामत, विचारको प्रतिस्पर्धा होइन, प्रदर्शनको होड चलेको छ । ‘कति मानिस आए ?’ भन्ने प्रश्नले ‘के भनियो ?’ भन्ने प्रश्नलाई विस्थापित गरिदिएको छ ।
यस प्रक्रियामा मिडियाको भूमिकामाथि पनि गम्भीर प्रश्न उठ्न आवश्यक छ । लोकतन्त्रमा मिडिया ‘चौथो अंग’ मात्र होइन, सार्वजनिक विवेक निर्माण गर्ने प्रमुख संस्था हो । तर पछिल्लो समय मुख्यधारको मिडियाले नीतिगत बहस, वैचारिक विमर्श र तथ्यपरक विश्लेषणभन्दा भीड, हल्ला र सनसनीलाई प्राथमिकता दिएको देखिन्छ । ठूलो सभा, विवादास्पद अभिव्यक्ति र भावनात्मक नाराले सजिलै ‘हेडलाइन’ पाउँछन्, तर शिक्षा, स्वास्थ्य, अर्थतन्त्र वा संघीयताको संरचनागत समस्यामाथिको गहिरो बहस पृष्ठभूमिमा धकेलिन्छ । यसको प्रत्यक्ष प्रभाव नागरिक चेतनामा पर्छ । जब मिडियाले प्रदर्शनलाई समाचारको केन्द्र बनाउँछ, तब नागरिक पनि राजनीतिक मूल्यांकन प्रदर्शनकै आधारमा गर्न थाल्छन् । यसले लोकतान्त्रिक संवादलाई सतही बनाउँछ र विवेकभन्दा आवेगलाई प्रोत्साहन गर्छ । भीडको मनोविज्ञान सधैं स्थिर हुँदैन आज समर्थन, भोलि आक्रोश । यस्तो अस्थिर आधारमा टिकेको राजनीति दीर्घकालीन शासन र नीति निर्माणका लागि खतरनाक हुन्छ ।
लोकतन्त्र बहसको प्रणाली हो, प्रदर्शनको मात्र होइन । बहसले असहमतिको स्थान बनाउँछ, जटिल समस्यालाई सरल नाराबाट अलग गर्छ र नीतिगत समाधान खोज्न प्रेरित गर्छ । तर जब राजनीति प्रदर्शनमा सीमित हुन्छ, असहमति शत्रुतामा रूपान्तरण हुन्छ । प्रश्न सोध्ने नागरिक ‘विरोधी’ ठहरिन्छन्, र आलोचना ‘आक्रमण’ मानिन्छ । यसले लोकतान्त्रिक संस्कृतिलाई क्षति गराउँछ ।
साना दल र नयाँ राजनीतिक शक्तिहरूले पनि आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ । भीड देखाउनु क्षणिक प्रभावका लागि उपयोगी हुन सक्छ, तर दीर्घकालीन राजनीतिक विश्वसनीयता विचार, संगठन र नीतिगत स्पष्टताबाट मात्र निर्माण हुन्छ । इतिहासले देखाएको छ, भीडले सत्ता दिलाउन सक्छ, तर शासन गर्न सक्दैन । शासनका लागि संस्थागत क्षमता, विशेषज्ञता र निरन्तर संवाद आवश्यक हुन्छ ।
यस सन्दर्भमा नागरिक समाज, बौद्धिक वर्ग र शिक्षण संस्थाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । राजनीतिक बहसलाई पुनः विचार–केन्द्रित बनाउन यिनले दबाब सिर्जना गर्नुपर्छ । विश्वविद्यालय, थिंक–ट्यांक र नागरिक मञ्चहरू सार्वजनिक नीतिमाथि गहिरो छलफलको केन्द्र बन्न सक्नुपर्छ । सामाजिक सञ्जालको तत्कालिक लोकप्रियताभन्दा पर, दीर्घकालीन राष्ट्रिय हितको बहस आवश्यक छ ।
अन्तत, प्रश्न लोकतन्त्रको भविष्यसँग जोडिएको छ । यदि राजनीति यसरी नै भीड र प्रदर्शनमा सीमित हुँदै गयो भने लोकतन्त्रको रूप त रहनेछ, तर आत्मा हराउनेछ । मताधिकार रहनेछ, तर विवेकशील छनोट कमजोर हुनेछ । त्यसैले अब आवश्यक छ, राजनीतिलाई पुन विचारतर्फ फर्काउने सचेत प्रयास । दलहरूले नीति प्रस्तुत गरून्, मिडियाले बहसलाई स्थान देओस् र नागरिकले भीड होइन, विचारलाई आधार बनाएर राजनीतिक निर्णय गरून् ।
लोकतन्त्र सडकमा मात्र होइन, संवादमा जिउँछ । यदि हामीले संवादलाई केन्द्रमा ल्याउन सकेनौं भने, भीडको राजनीति सबैका लागि महँगो सावित हुनेछ ।
