२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

के तपाईंले दलहरूको घोषणापत्र पढ्नुभयो ?

सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । के हामीले दलहरूको घोषणापत्र पढ्यौं ? गरिब, दलित, सीमान्तकृत, महिला, भूमिहीन किसान, श्रमिक यी वर्गका सवालबारे के कति लेखिएका छन् ? लेखिएको विषय कार्यान्वयन गर्न दलहरूले विगतमा के प्रयास गरेका थिए ? समीक्षा गरौं  र दलहरूको घोषणापत्र पढौं ।

चिया पसलदेखि सामाजिक सञ्जाल, घरआँगनदेखि चोक–चौतारीसम्म चुनावकै चर्चा छ । लोकतन्त्रमा निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, राजनीतिक विमर्श गर्ने अवसर पनि हो । र, नेतृत्वको पुस्तान्तरण पनि हो । पार्टी, नेता, जनता चिन्ने, अन्तरघुलित हुने, समाज विकासबारे विचार, विमर्श, बहस, चिन्तन गर्ने र प्रतिनिधिका प्रतिबद्धता सुन्ने अवसर पनि हो । र, असलमा यो असल शासक छान्ने अवसर हो ।

पछिल्ला राजनीतिक आन्दोलन, राजनीतिक दलहरूको व्यवहार, केही उम्मेदवारको अभिव्यक्ति र तिनका समर्थकको शैली हेर्दा हामी सकारात्मक विचार, विमर्श र बहसतर्फ छैनौं कि भन्ने संकेत गर्छ । यसले कतै हामी सही दिशातिर छैनौं कि भन्ने संशय पनि जन्माएको छ । लोकतान्त्रिक व्यवस्था र अभ्यासमा केही गम्भीर प्रश्न खडा गरेको छ । त्यसैले हामी असल शासक छनोट गर्नबाट चुक्छौं कि भन्ने भय पनि छ ।

लोकतन्त्र त्यसै आएको होइन, यो विगतका बलिदानी र संघर्षकै परिणाम हो । तर, नागरिकको जीवनमा के कति परिवर्तन आयो ? सरकार र नेतृत्वमा सुशासन, पारदर्शिता कति आयो ? उनीहरू कति जवाफदेही भए ? सेवा प्रवाहको प्रभावकारिता कस्तो भइरहेको छ ? बनेका नीतिहरूको कार्यान्वयनको अवस्था के कस्ता छन् ? यी यावत् प्रश्न नागरिकले उठाइरहेका छन् । सरसर्ती हेर्दा यी सबै क्षेत्रमा अझै गहिरा समस्या छन् । र, प्रश्न धेरै छन् । भ्रष्टाचारले देशलाई बिगारेको त हामीले धेरै पटक सुन्दै आएका छौं । कतै यी सबै हुनुमा हामीले असल शासक छनोट गर्न नसकेर पो हो कि ?

नेपाली जनताका अनेकन समस्या छन् । कतिपय कानुन बने पनि कार्यान्वयनको अवस्था कमजोर छ । नीति कार्यान्वयन गर्ने नेतृत्वमा निष्ठा र जिम्मेवारी कमजोर छ । चुनावताका भाषणमा नागरिक केन्द्रमा हुन्छन्, व्यवहारमा भने ठीक उल्टो । सत्ता र पद बलियो हुन्छ र टिकाउनकै लागि उनीहरू जे गर्न पनि तयार भइरहेका हुन्छन् । यो वर्षौंदेखि दोहोरिरहेको र जनतालाई दुःख दिइरहेको दृश्चक्र हो । अब यो फेरिनुपर्छ ।

यस विडम्बनाको कारण केवल नेता मात्र हुन् भन्नु सजिलो होला, तर पर्याप्त होइन । लोकतन्त्रमा नागरिक नै बलियो हुनुपर्ने हो । तर, यहाँ नागरिक निर्धा–कमजोर देखिएका छन् । उनीहरूकै अधिकार खोसिएको छ । उनीहरूले नै निर्वाचित गरी पठाएका प्रतिनिधि जनताप्रति इमानदार छैनन् । जनताले प्रश्न उठाउन सकिरहेका छैनन् ।

हामीले प्रश्न नगरेका कारण, प्रश्न उठ्दासाथ नदिएका कारण, प्रश्न उठाउनेलाई नै एक्ल्याइदिएका कारण समस्या संस्थागत हुँदै गयो । प्रश्न गर्ने संस्कृति कमजोर भयो । आलोचनालाई शत्रुता ठान्ने प्रवृत्ति बढ्यो । परिणामतः शक्ति असन्तुलित भयो र नागरिक क्रमशः निरीह बनाइए । प्रश्न गर्नेहरूको हिम्मत कम हुँदै गयो र जवाफ दिनुपर्नेहरूको जवाफदेहिता झन्झन् घट्दै गयो ।

समय सामाजिक सञ्जालको र फ्यान फलोअर्सको छ । जसको धेरै फ्यान फलोअर्स उही बलियो देखिने र शक्तिशाली गनिने नयाँ प्रचलन सुरु भएको छ । प्रश्न गर्नेलाई आलोचना गर्न थालिएको छ । आलोचनालाई शत्रुता ठान्ने प्रवृत्ति बढ्दो छ । असलमा व्यवस्थाको, नीतिको, नेतृत्वको प्रश्न गर्नेको हिम्मत कमजोर हुँदै छ । जवाफ दिनुपर्नेको जवाफदेहिता झन्झन् घट्दै गइरहेको छ ।

नियमित नभई आकस्मिक (आन्दोलनका कारण) हुन गइरहेको चुनावले कस्तो परिणाम देला, त्यो हेर्नै बाँकी नै छ । तैपनि यस पटकको चुनाव नयाँ र पुरानाबीचको प्रतिस्पर्धा भनिएको छ । पुरानाले काम गरेनन्, त्यसैले नयाँ आवश्यक छ– यो तर्कले धेरैलाई आकर्षित गरेको छ । तर, प्रश्न उठ्छ– के साँच्चै नयाँ भनेको केवल उमेर, अनुहार र दलको नाम मात्रै हो ? कि सोच, शैली र संस्कार पनि नयाँ हुनुपर्छ ? आशा गरौं– नयाँहरूको नाम, अनुहारसँगै सोच, शैली र व्यवहार पनि नयाँ होस् । परिवर्तन र कामले नयाँपन महसुस गर्न पाइयोस् ।

नयाँहरू सबै स्वतः स्वच्छ र सक्षम हुन्छन् भन्ने हुँदैन । केही नयाँ अनुहारमा पुरानै संस्कार देखिनु चिन्ताजनक छ । विरोध, गालीगलौज, व्यक्तिपरक आक्रमण, सामाजिक सञ्जालमा उत्तेजना र भावनात्मक नारा मात्रैले केही गर्ने पक्कै होइन । यदि शैली पुरानै छ भने केवल पात्र फेरिँदैमा परिणाम कसरी फरक होला ? उसले देशलाई कसरी समृद्धि–पथमा अघि बढाउला ? त्यसैले लोकले खोजेको असल शासक, असल प्रतिनिधि र असल अभिभावक हो ।

राजनीतिमा सबैभन्दा चिन्ताजनक पक्ष व्यक्ति–पूजा प्रवृत्ति हो । नेतालाई नेता मात्रै नभई भगवान्सरह देख्ने संस्कार लोकतान्त्रिक संस्कार होइन । वर्तमान कस्तो छ भने कुनै अमुक नेतालाई प्रश्नको घेराभन्दा माथि राखिन्छ र उसलाई कसैले प्रश्न गर्ने हिम्मत गरे, पूर्ण रूपमा दबाइन्छ । जहाँ प्रश्नमाथि दमन हुन्छ, पक्कै त्यहाँ जवाफदेहिता मर्छ र हिरोइजम सुरु हुन्छ । त्यो लोकतन्त्रका लागि खतरा हो ।

नेताप्रति प्रश्न नगरेकै कारण व्यवस्था बिग्रियो भन्नेहरू नै आज मनपर्ने नेताप्रति जायज प्रश्न गर्न सक्दैनन् । कसैले प्रश्न उठाए सहन सक्दैनन् । आलोचनालाई षड्यन्त्र भन्छन्, असहमतिको आवाजलाई देशद्रोह । यस्तो संस्कारले सुशासन होइन, अन्धभक्ति जन्माउँछ । त्यहाँ केही समूह व्यक्ति–पूजनमा रमाउँछन् ।

लोकतन्त्रमा नेता जनताको प्रतिनिधि हुनुपर्छ । उसमा जनसेवा गर्ने हुटहुटी हुनुपर्छ । भुइँबाट उठ्ने हरेक प्रश्नको उत्तर दिन तयार हुनुपर्छ । प्रश्नले नै उसलाई नेतृत्वप्रति परिपक्व बनाउँछ । र, भुल्न नहुने पक्ष हो– हरेक जनतालाई आफ्ना प्रतिनिधिसँग प्रश्न गर्ने अधिकार छ । त्यतिमात्रै होइन, प्रतिनिधि छनोट गर्ने अधिकार पनि उनीहरूमै छ ।

निर्वाचनमा मत स्वविवेकको निर्णय हो र गोप्य मतदान लोकतन्त्रको आत्मा । यो केवल अधिकार होइन, नागरिकको देशप्रतिको जिम्मेवारी हो । किनकि जनताको एक/एक मतले नै असल प्रतिनिधि छनोटमा निर्णायक भूमिका खेल्छ ।

यतिबेला सबैले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । के हामीले दलहरूको घोषणापत्र पढ्यौं ? गरिब, दलित, सीमान्तकृत, महिला, भूमिहीन किसान, श्रमिक यी वर्गका सवालबारे के कति लेखिएका छन् ? लेखिएको विषय कार्यान्वयन गर्न दलहरूले विगतमा के प्रयास गरेका थिए ? समीक्षा गरौं । नयाँ दलले ल्याएका वाचा–पत्रहरूमा पनि मिहीन अध्ययन र समीक्षा गरौं । त्यहाँ जनताको मुद्दा के कति समेटिए र उनीहरूका मुद्दा कार्यान्वयन गर्ने प्रतिबद्धता कस्तो गरेका छन्, त्यो पनि अध्ययन गरौं । प्रतिनिधि छनोट सामाजिक सञ्जालको प्रभावको आधारमा गर्नु हुँदैन । यो तथ्य, विवेक र स्वच्छ मूल्यांकनबाट गरिने निर्णय हो ।

हामीले चाहेको असल–थिति हो, बेथिति होइन । हामीले चाहेको सुशासन हो, कुशासन होइन । हामीले चाहेको विकास हो, विकृत होइन । हामीले चाहेको नेतृत्व हो, नेतृत्वगिरी होइन । हामीले चाहेको मुलुक भाषणले होइन, संस्कारले बन्छ । गालीले होइन, विचारले बन्छ । कुराले होइन, कामले बन्छ । अन्ध समर्थनले होइन, सचेत नागरिकको जिम्मवारी वहनले बन्छ । लोकतन्त्र बलियो बनाउने जिम्मेवारी केवल दल वा नेताको होइन, हामी नागरिकको पनि हो ।

सायद यस पटकको निर्वाचनमा सबैभन्दा ठूलो निर्णय उम्मेदवार छान्नु मात्रै होइन, आफू कस्तो नागरिक बन्ने भन्ने निर्णय लिनु पनि हो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय