बालेनको उदय : नयाँ राजनीतिक संस्कृतिको खोजी

आर्थिक कूटनीति, उद्यमशीलता र विश्वभर फैलिएको नेपाली डायस्पोराको ज्ञान तथा अनुभवलाई जोड्न सके नेपालले आफ्नो विकास यात्रामा नयाँ गति प्राप्त गर्न सक्छ ।

नेपाल आज लोकतान्त्रिक यात्राको एक महत्त्वपूर्ण मोडमा उभिएको छ । लामो समयसम्म लोकतन्त्रका नाममा राजनीति चले पनि त्यसको वास्तविक सार आमनागरिकले अनुभूति गर्न सकेका थिएनन् । सीमित राजनीतिक दल, सत्ताकेन्द्रित स्वार्थ समूह र कमजोर संस्थागत संस्कृतिले राज्य व्यवस्थालाई जनअपेक्षाबाट टाढा पुर्‍याएको थियो । जाति, भाषा र धर्मका आधारमा समाजलाई विभाजन गर्ने प्रवृत्तिले राष्ट्रिय एकतालाई समेत चुनौती दिएको अनुभूति धेरैले गरिरहेका थिए ।

तर, नेपाल केवल राजनीतिक उतारचढावको कथा मात्रै होइन । हिमालजत्तिकै अडिग आत्मसम्मान, विविधतामा एकताको परम्परा र सहिष्णु सभ्यतागत चेतनाले नेपाली समाजलाई सधैं बलियो बनाएको छ । नेपाली समाजको सबैभन्दा ठूलो शक्ति यसको खुला, मित्रवत् र सहिष्णु सामाजिक चरित्र हो । यही मानवीय मूल्यले नेपाललाई केवल भौगोलिक राष्ट्र होइन, एक जीवित सभ्यता बनाएको छ ।

नेपाल विश्वमा केवल गौतम बुद्धको जन्मभूमि मात्र होइन । यहाँ करुणा, सहअस्तित्व र आध्यात्मिक साधनाको परम्परा आज पनि जीवित छ । काठमाडौं उपत्यकाका स्वयम्भूनाथ र बौद्धनाथजस्ता तीर्थस्थलमा देखिने साधना र ध्यानको परम्परा, पशुपतिनाथ मन्दिरमा प्रकट हुने शिव दर्शनको जीवनदर्शनले नेपाली सभ्यतामा आध्यात्मिकता र करुणाको गहिरो एकता देखाउँछ । यहाँ धर्म आस्था मात्रै होइन, आत्मचिन्तन, सहिष्णुता र मानवतासँग जोडिएको जीवन पद्धति हो ।

नेपालको इतिहासले अर्को महत्त्वपूर्ण विशेषता पनि देखाउँछ– नेपाल सधैं एक ‘सिक्ने राष्ट्र’ रहँदै आएको छ । नेपाली समाज नयाँ ज्ञान, अनुभव र प्रविधिबाट सिक्दै अघि बढ्ने खुला चेतनामा विश्वास गर्छ । यसको ऐतिहासिक उदाहरण सन् १९०१ मा नेपालले जापानमा विद्यार्थी पठाउन गरेको पहल हो, जुन समय एसियाका धेरै राष्ट्र उपनिवेशवादको दबाबमा थिए । त्यहाँ अध्ययन गरेर फर्किएका नेपाली युवाले काठमाडौंको सुन्दरीजल हाइड्रोपावर स्टेसन निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए, जसले नेपालमा जलविद्युत् विकासको सम्भावनालाई पहिलो पटक उजागर गरेको थियो । यसले देखाउँछ– नेपालले समय–समयमा विश्वका उत्कृष्ट अभ्यासबाट सिक्ने साहस देखाएको छ । आजको नयाँ नेपालले पनि यही परम्परा अघि बढाउँदै जडता, संकीर्ण विचारधारा र राजनीतिक कट्टरताबाट मुक्त हुँदै स्वावलम्बन र स्वाभिमानमा आधारित ‘सिक्ने राष्ट्र’ का रूपमा आफूलाई स्थापित गर्न सक्छ । यस्तो आत्मविश्वासपूर्ण राष्ट्रले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विश्वका प्रमुख अर्थतन्त्र बनिरहेका छिमेकी देशहरू भारत–चीनसँग समन्वय र सहकार्यको सन्तुलित मार्ग अपनाउँदै अघि बढ्न सक्छ ।

इतिहासले कहिलेकाहीँ यस्ता क्षणहरू जन्माउँछ, जहाँ समाजको गहिराइमा दबिएको चेतना अचानक जागृत हुन्छ । नेपालमा पनि त्यस्तै एक ऐतिहासिक क्षण देखियो– सेप्टेम्बर ८ र ९ का दिन । ती दिनहरूमा विशेषतः नयाँ पुस्ताका युवाले भ्रष्टाचार, अपारदर्शिता र स्वार्थकेन्द्रित राजनीतिविरुद्ध आवाज उठाए । केही युवाले त देशको भविष्यका लागि आफ्नो जीवनसमेत अर्पण गरे । उनीहरूको त्यो बलिदान केवल विरोध थिएन, नयाँ नेपालको आकांक्षाको उद्घोष थियो । त्यसपछि देखिएको नागरिक चेतना र हालैको निर्वाचनले नेपाली समाज परिवर्तनको दिशातर्फ अघि बढिरहेको स्पष्ट संकेत दिएको छ ।

राजनीतिक चिन्तनमा यस्ता अवस्थाबारे धेरै विद्वान्ले चेतावनी दिएका छन् । इतिहासकार रिचर्ड हफ्स्डटरले लोकतन्त्र कहिलेकाहीँ संगठित स्वार्थ समूहहरूको प्रभावमा पर्न सक्ने बताएका थिए । त्यस्तै अर्थशास्त्री ड्यारोन अक्मोग्लु र जेम्स रोबिन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा राष्ट्रको दीर्घकालीन समृद्धि सुदृढ र समावेशी संस्थाहरूको निर्माणमा निर्भर हुने तर्क गरेका छन् । यस सन्दर्भमा बालेन शाहजस्ता नयाँ नेतृत्वप्रति देखिएको जनसमर्थनलाई केवल व्यक्तिको लोकप्रियता नभई नयाँ राजनीतिक संस्कृतिको खोजीका रूपमा बुझ्नु आवश्यक छ । तर, नयाँ नेपाल निर्माणको आधार कुनै एक व्यक्तिमा होइन, सुदृढ प्रणाली र संस्थाहरूको विकासमा हुनुपर्छ ।

आज विश्व तीव्र भू–राजनीतिक परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ । यस्तो अवस्थामा नेपालले आफ्नो स्वतन्त्रता, सन्तुलित कूटनीति र शान्तिपूर्ण सहअस्तित्वको परम्परा कायम राख्दै विश्वसँग सहकार्य गर्ने बुद्धिमत्ता देखाउनुपर्छ । कानुनको शासन, योग्यतामा आधारित व्यवस्था, पारदर्शिता र उत्तरदायित्व– यी नै हुन् स्थायी लोकतन्त्रका आधार ।

नेपाल प्राकृतिक सौन्दर्यको देश मात्रै होइन, जलस्रोत, जैविक विविधता र हजारौं वर्ष पुरानो सभ्यतागत ज्ञानको धनी राष्ट्र हो । हिमालबाट बग्ने जलस्रोत ऊर्जा वा अर्थतन्त्रको सम्भावना मात्रै होइन, दक्षिण एसियाली सभ्यताको जीवनधारा पनि हो । काठमाडौं उपत्यकामा देखिने अद्वितीय वास्तुकला, हस्तकला र परम्परागत ज्ञान प्रणालीले नेपाली समाजको सिर्जनशीलता र सांस्कृतिक परिष्कारलाई प्रकट गर्छ । यही सम्पदाले नेपाललाई विश्व समुदायमा एक विशिष्ट पहिचान दिएको छ ।

आर्थिक कूटनीति, उद्यमशीलता र विश्वभर फैलिएको नेपाली डायस्पोराको ज्ञान तथा अनुभवलाई जोड्न सके नेपालले आफ्नो विकास यात्रामा नयाँ गति प्राप्त गर्न सक्छ । आजको ऐतिहासिक क्षणले नेपाललाई एउटा स्पष्ट सन्देश दिएको छ– अब परिवर्तनको समय आएको छ । यदि हामीले सुदृढ संस्थाहरू निर्माण गर्दै पारदर्शिता, योग्यता र उत्तरदायित्वलाई राज्य सञ्चालनको आधार बनाउन सक्यौं भने नेपाललाई शान्तिपूर्ण र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्ने सम्भावना हाम्रोसामु स्पष्ट देखिन्छ ।

अन्ततः नेपालको भविष्य कुनै एक नेता वा दलमा होइन– सुदृढ प्रणाली, विश्वसनीय संस्थाहरू र सचेत नागरिकताको निर्माणमा निर्भर छ । सम्भवतः आज देखिएको यही नागरिक चेतनाबाट नेपाली आत्माको जागरण हुँदै छ र यही यात्राबाट नयाँ नेपालको वास्तविक उदय हुँदै छ । बुद्धको करुणा र पशुपतिनाथको आत्मअनुशासनले निर्देशित यही नैतिक चेतनाले यदि हाम्रो सार्वजनिक जीवनलाई मार्गदर्शन गर्न सक्यो भने नेपाल राजनीतिक परिवर्तनको कथा मात्रै रहने छैन । यो देश शान्ति, सहअस्तित्व र समृद्धिमा आधारित एक सच्चा ‘शान्ति क्षेत्र’ (जोन अफ पिस विथ प्रस्पेरिटी) का रूपमा विश्वसामु उभिन सक्नेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय