
- पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ।
- कोलकाता नजिकै भएको उक्त आक्रमणमा प्रयोग गरिएको गाडीको नम्बर प्लेट नक्कली भेटिएको प्रहरीले जनाएको छ।
- भाजपाले यसलाई तृणमूल कांग्रेसको सुनियोजित राजनीतिक हत्या भन्दै कडा विरोध गरेको छ।
पश्चिम बंगालमा चुनावी नतिजापछि भड्किएको हिंसाबीच भारतीय जनता पार्टी (भाजपा) का नेता तथा वर्तमान विपक्षी नेता शुभेन्दु अधिकारीका निजी सहायक (पिए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार यो घटना राजधानी कोलकाता नजिकैको मध्यमग्राम क्षेत्रमा भएको बताइएको छ। समाचार एजेन्सीहरूले सार्वजनिक गरेका भिडिओहरूमा रथलाई गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको देखिन्छ। आक्रमणकारीले उनी सवार गाडीमै गोली चलाएका थिए। उक्त गाडीमा विधानसभा पासको स्टिकर समेत थियो।
प्रहरीले घटनामा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको भए पनि त्यसमा राखिएको नम्बर प्लेट नक्कली रहेको जनाएको छ। उल्लेखनीय कुरा के भने, हालै सम्पन्न विधानसभा चुनावमा शुभेन्दु अधिकारीले भवानीपुर निर्वाचन क्षेत्रबाट तृणमूल कंग्रेस (टिएमसी) की अध्यक्ष ममता बनर्जीलाई करिब १५ हजार मतान्तरले पराजित गरेका थिए।
राज्यका डिजिपी सिद्धनाथ गुप्ताका अनुसार घटनास्थलबाट बन्दुकको गोली बरामद भएको छ र प्रत्यक्षदर्शीको बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ।
भाजपाले यो घटनालाई ‘पूर्वनियोजित हत्या’ भन्दै कडा प्रतिक्रिया दिएको छ। शुभेन्दु अधिकारीले ‘दुई–तीन दिनअघिदेखि नै रेकी गरिएको’ दाबी गर्दै यसलाई पश्चिम बंगालमा टिएमसी शासनको ‘महाजंगलराज’ को परिणाम भनेका छन्।
उनले पार्टी नेतृत्वले घटनालाई गम्भीर रूपमा लिएको र परिवारसँग सम्पर्कमा रहेको बताएका छन्।
