
- अमेरिकाले इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदे प्रस्ताव पठाएको छ।
- इरानले उक्त प्रस्तावको समीक्षा गरिरहेको छ र केही दिनमै जवाफ आउने अपेक्षा गरिएको छ।
- सहमति नभए सैन्य कारबाही गर्ने चेतावनी दिँदै अमेरिकाले वार्तामार्फत प्रतिबन्ध हटाउने सम्भावना देखाएको छ।
अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।
वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो।
सँगै पाकिस्तानमार्फत दुई देशको धारणा र अडानहरू पनि आदान प्रदान भइरहेको अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले पठाएको मस्यौदामा उल्लिखित प्रस्तावहरूबारे इरानले अहिले समीक्षा गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
अमेरिकी अधिकारीहरूले इरानबाट चौबीसदेखि ४८ घन्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन्।
‘हामी धेरै टाढा छैनौं, तर अझै सम्झौता भएको चाहिँ छैन,’ एक अधिकारीले एक्सियससँग भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही दिनमै इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। सहमति र सम्झौता हुन नसक्ने अवस्था देखिए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन्।
‘त्यस्तो अवस्था आए अघिल्लो पटककोभन्दा भयानक बमबारी हुनेछ,’ ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने।
यसअघि ट्रम्प आफैले इरानसँग संवाद भइरहेको भनेर स्ट्रेट अफ हर्मुजमा सैन्य एस्कर्टिङ गरी फसेका जहाजहरू निकाल्ने योजना स्थगित गरेका थिए।
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जानुअघि नै युद्ध अन्त्य गरी दीर्घकालीन शान्तिका लागि इरानसँग सम्झौता गर्न चाहेको भनेर पनि एक्सियसले लेखेको छ।
वासिङ्टनले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता अवधि सुरु गर्ने प्रस्ताव छ। उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने लक्ष्य राखिएको छ।
स्रोतहरूका अनुसार ती वार्ता इस्लामावाद वा जेनेभामा हुन सक्छ।
एक अमेरिकी अधिकारीका अनुसार ३० दिने अवधिमा इरानले हर्मुज क्षेत्रमा लगाएको जहाज आवतजावत प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ।
तर वार्ता असफल भए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही गर्न सक्ने प्रावधान पनि प्रस्तावमा राखिएको छ।
एक्सियसले खुलाएको सबैभन्दा महत्वपूर्ण विवरण भने युरेनियम संवर्धन रोक्ने समयसीमा हो।
स्रोतहरूका अनुसार अमेरिकाले इरानलाई कम्तीमा २० वर्ष संवर्धन रोक्न दबाब दिएको छ भने इरानले ५ वर्ष प्रस्ताव गरेको छ। अहिले १२ देखि १५ वर्षबीचको समझदारी बन्न सक्ने चर्चा भइरहेको छ।
तर इरानले रोक लगाइएको समयमा युरेनियम प्रशोधन गरेको खुले अवधी थप लम्ब्याइने भनिएको छ। इरानले इमानदारिताका साथ तोकिएको समयमा युरेनियम प्रशोधनको काम रोकेको अवस्थामा पछि ३.६६ प्रतिशतसम्मको न्यूनस्तरको युरेनियम संवर्द्धन गर्न गर्न दिइने प्रस्ताव छ।
एक अमेरिकी अधिकारीका अनुसार इरानले संयुक्त राष्ट्रसंघका निरीक्षकबाट आकस्मिक निरीक्षण स्वीकार गर्नुपर्ने र विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने सर्त पनि प्रस्तावमा समावेश छ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने तथा विश्वभर रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाउनेछ भनेर एक्सियसले लेखेको छ।
तर वासिङ्टनले विगतदेखि उठाउँदै आएको केही संवेदनशील माग भने प्रस्तावमा स्पष्ट छैन।
