कांग्रेसको महाधिवेशनको तालिका फेरि परिमार्जन हुन लागेको हो ?
आजै यस्तै हो भन्न कठिन छ । महाधिवेशनका लागि सबैभन्दा पहिले क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगिनुपर्छ । त्यसमा कुनै विवाद भएमा जिल्लाले नै पनि मिलाउन सक्छ । जिल्लाले नसकेमा केन्द्रमा पठाउनुपर्छ । केन्द्रमा विवाद समाधानका लागि सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति बनेको छ । त्यसले विवाद टुंग्याएपछि बल्ल वडा तहदेखिका अधिवेशन हुने हुन् । अहिलेसम्म क्रियाशील सदस्यताको रिपोर्ट आइसकेको छैन । त्यो आएपछि मात्र यसबारे भन्न सकिन्छ ।
घोषित मितिमा महाधिवेशन किन गराउन सकिएन ?
हामीले एक–एक, दुई–दुई दिनको समय दिएर तालिका जारी गर्यौँ । जसले गर्दा महाधिवेशनको पूर्वतयारीमा समय कम भयो । पहिल्यैदेखि नियमित काम हुँदै आएको भए यो समस्या नहुन पनि सक्थ्यो । कांग्रेसमा सामान्यतः एक वर्ष म्याद थप गर्ने परम्परा रहँदै आएकाले पनि ढिलाइ भएको हो । तर, जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा विशेष या नियमित महाधिवेशनको माग उठेपछि हतारहतारमा प्रक्रिया छोट्याएर कम समय दिएर मिति घोषणा गरियो । यही ‘फास्ट ट्र्याक’वाला मितिले नै अहिले अप्ठ्यारो पार्यो ।
भनेपछि निर्वाचनअघि महाधिवेशन नहुने नै भयो होइन त ?
क्रियाशील सदस्यता वितरण र नवीकरण समयमै सम्पन्न भएमा अझै पनि घोषित मितिमै महाधिवेशन हुने सम्भावना टरिसकेको छैन । आजभोलिमै यो प्रक्रिया पूरा भयो भने महाधिवेशन हुन पनि सक्छ । तर, अहिलेसम्मको तयारी हेर्दा भने महाधिवेशन सर्ने परिस्थिति बन्दै गएको हो कि जस्तो देखिँदै छ । यतिखेर हामीलाई निर्वाचनको पनि प्रेसर छ । घोषणापत्र तयार गर्ने सुरसार नै छैन । उम्मेदवार चयन पनि बाँकी नै छ । जसले गर्दा निर्वाचनअघि महाधिवेशन गर्न त्यति सहज देखिन्न ।
