जेन–जी आन्दोलनपछि दलहरू कति सच्चिए ?
यथार्थमा दलहरू सच्चिनुपर्छ भनेर मिडिया, नागरिक समाज, आमजनता आदिले मात्र आवाज उठाएका हुन् । तर, पार्टीभित्रैबाट चाहिँ कहीँ कतै आवाज उठेको देखिएन, सुनिएन । कांग्रेसमा महामन्त्रीहरूले सामाजिक सञ्जालबाट फरक ढंगमा आवाज उठाए पनि दलहरूभित्र सच्चिनुपर्छ भन्ने एजेन्डा नै प्रवेश गरेको छैन । एमाले महाधिवेशनले त जेनजी आन्दोलनलाई ‘कन्डेम’ नै गरेर आपराधिक करार गर्न खोज्यो । यसले गर्दा दलहरू सच्चिने बाटामा जाने सम्भावना देखिन्न ।
दलहरूमा रूपान्तरण र पुस्तान्तरणको सम्भावना कति देख्नुहुन्छ ?
दलहरूमा रूपान्तरण र पुस्तान्तरण व्यक्तिसँगै एजेन्डामा पनि हुनुपर्ने हो । तर, यहाँ त कुनैमा पनि भएन र हुने सम्भावना पनि देखिँदै छैन । पार्टीमा रूपान्तरणको माग पनि आत्मकेन्द्रित या व्यक्तिकेन्द्रित देखिन्छ । जेनजी आन्दोलनले दलहरूमा आक्रामकता र राजनीतिक अराजकताको संस्कार दिएको छ । दलहरू रूपान्तरण र पुस्तान्तरणको साटो त्यही बाटामा जाने खतरा देखिँदै छ ।
कांग्रेसले पुरानै नेतालाई प्राथमिकता दिएर उम्मेदवार सिफारिस गर्नुलाई के भन्नुहुन्छ ?
जसले जे–जस्ता आदर्शका कुरा गरे पनि आगामी निर्वाचनमा कांग्रेसबाट एक सय ५० जति पुरानै अनुहारले निरन्तरता पाउनेछन् । देशका सबै महŒवपूर्ण संस्था पुराना एलिटहरूकै कब्जामा छन् । जेनजी आन्दोलनले अवसर ल्याएको थियो तर, त्यतिखेर सो आन्दोलन नेतृत्वविहीन रह्यो र उनीहरूले आफ्ना एजेन्डा स्थापित गराउन सकेनन् । आन्दोलनको रापतापमा २४ भदौकै राति संविधान संशोधन गरेर तीनभन्दा बढी पटक उम्मेदवार बन्न नपाइने व्यवस्था गरिदिएको भए नयाँ अनुहारले मौका पाउने थिए । तर, त्यो मौका गुमेको हुनाले पुरानै अनुहारले निरन्तरता पाउने र नयाँ पुस्ता जिल्लिने अवस्था यथावत् छ ।
