दलित अधिकारकर्मी रूपा सुनार

इनिशा विकको बलात्कारपछि भएको हत्याले हाम्रो समाजको कस्तो चित्र देखाएको छ ?
हाम्रो समाज पूर्णत: पितृसत्तात्मक संरचनामा आधारित छ । बिहानदेखि बेलुकासम्मका हरेक गतिविधिमा पितृसत्ताको झल्को देखिन्छ । हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयमा यसबारे पढाइ हुँदैन । नर्सरीदेखि विश्वविद्यालय तहसम्मै महिलालाई वस्तुका रूपमा व्यवहार गरिन्छ । स्वतन्त्रताका नाममा उनीहरूलाई नंग्याइन्छ । हाम्रो समाज विचारविहीन दिशामा गइरहेको छ । यहाँ समाज रूपान्तरणको बहस हुँदैन, खालि डेलिभरी मात्र खोजिन्छ । समाजमा महिलाले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कथित सामाजिक नियम बनेका छन् । घरबाटै पुरुषलाई बलशाली र महिलालाई कमजोर वर्गका रूपमा चिनाइन्छ । जसले गर्दा घरघरमै बलात्कारी हुर्किरहेको अवस्था छ । त्यसैको प्रकटीकरण हो, इनिशा विक, अन्य बलात्कृत या बलात्कारपछि हत्या भएका बालिकादेखि वृद्धासम्मका कथाव्यथा ।

यस्ता घटना बारम्बार दोहोरिइरहनुमा के–कस्ता कारण जिम्मेवार हुन सक्छन् ?
मुख्यत: यस्ता जघन्य अपराधका घटना बारम्बार दोहोरिइरहनुमा हाम्रो समाजको सामाजिक संरचना र पितृसत्तात्मक सोच नै मुख्य जिम्मेवार छन् । जबसम्म पीडकलाई पुरुष भएकैले जस्तोसुकै अपराधमा क्षमा दिने र जतिसुकै पीडित भए पनि बलात्कार या बलात्कारपछिको हत्याका लागि महिलालाई नै जिम्मेवार ठहर्‍याउने गलत सोच हट्न सक्दैन, तबसम्म यस्ता घटना बारम्बार दोहोरिइरहनेमा शंका छैन ।

यस्ता जघन्य अपराधमा पीडित पक्षले न्याय पाउन किन कठिन भइरहेको होला ?
यस्ता अधिकांश अपराधमा पीडित पक्ष समाजको पिँधमा रहेको कमजोर वर्ग हुने गरेको छ । यस्तो अवस्थामा उनीहरूका पक्षमा ठुलो आवाज मुखरित हुनै सक्दैन । यदाकदा विरोधका स्वर सुनिइहालेमा पनि त्यो केही दिनमै मत्थर हुन्छ र तिनलाई थकाएर हात उठाउन बाध्य पारिन्छ । कानुन कडा भए पनि तिनको कार्यान्वयनमा पित्तृसत्तात्मक सोच हाबी छ । त्यसैले गर्दा पनि पीडितले न्याय पाउन कठिन भएको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय