निर्देशक तुलसी घिमिरेलाई छोरी पञ्चमीको प्रश्न

समाचार सारांश
Auto Generated by AI
  • निर्देशक तुलसी घिमिरेले आफ्नो फिल्मी यात्रा सपना पछ्याउँदै सुरु गरेको र आमाको आशीर्वाद तथा रञ्जित गजमेरको साथले आफूलाई सफल बनाएको बताउनुभएको छ।
  • उहाँले जीवनमा सफलतासँगै बुबाको निधन हुँदाको पीडा र सङ्घर्षका दिनहरूलाई उत्तिकै स्मरण गर्दै फिल्मको कथामा वास्तविक जीवनका भोगाइहरू जोड्ने गरेको उल्लेख गर्नुभएको छ।
  • अन्त्यमा, उहाँले आफूले बनाएका सफल फिल्महरूमा महिला र पुरुष दुवै पात्रलाई बराबर महत्त्व दिएको र भविष्यमा स्वास्थ्यले साथ दिए राम्रा चलचित्र निर्माण गर्ने चाहना व्यक्त गर्नुभएको छ।

मेरो अहिलेको उमेरमा तपाईं फिल्मबारे सोच्दै हुनुहुन्थ्यो कि, अरू केही ? 
तिम्रो उमेरमा मेरो सपना फिल्म नै थियो । मेरो गुरुले एकदिन कक्षामा सोध्नुभयो, ‘तिम्रो सपना के हो ?’ अनायासै मेरो मुखबाट निस्कियो, ‘म फिल्ममा काम गर्न चाहन्छु ।’ मेरो कुरा सुनेर कक्षाका साथी हाँसे । कतिपयले ‘तँ त धर्मेन्द्र बन्ने भइस्’ भनेर जिस्क्याए पनि । मैले आमालाई सोध्थे, ‘आमा, धर्मेन्द्र ह्यान्डसम कि म ?’ तिम्रो हजुरआमाले सधैँ भन्नुहुन्थ्यो, ‘धर्मेन्द्रभन्दा तँ नै ह्यान्डसम छस् ।’ त्यसले मलाई आत्मविश्वास दिन्थ्यो । म आफू ह्यान्डसम नै हुँ भन्ने लाग्थ्यो ।

कसरी सुरु गर्नुभयो फिल्मी करिअर ?

फिल्ममा काम गर्ने सपना छ भनेर कक्षामा त भनियो, तर बम्बई कसरी पुग्ने ? केही थाहा थिएन । कसै न कसैको माध्यमबाट त्यहाँ पुग्छु भन्ने विश्वास थियो । सिक्किमको ‘रोमियो एन्ड सिक्किम’ नामको फिल्म युनिटसँग भेट भयो । उनीहरूसँगै म बम्बई पुगेँ । निर्देशक बन्ने लक्ष्य लिएर गएको थिइनँ । काम सिक्न बम्बई पुगेको थिएँ । त्यसपछि मेरो फिल्मी यात्रा सुरु भयो ।

आमा (भारती घिमिरे) र तपाईंको भेट कसरी भयो ? 
भारतीले ‘कुसुमे रुमाल’, ‘बाँसुरी’ र ‘लाहुरे’मा पनि असिस्टेन्टको रूपमा काम गरेकी थिइन् । त्यतिवेला हाम्रो बिहे भइसकेको थिएन । पछि दुवै परिवारबाट पनि बिहेको कुरा अघि बढ्यो । मेरो उमेर पनि बढ्दै गएको थियो, त्यसैले ‘अब बिहे गर्नुपर्छ’ भन्ने भयो । तर, कोसँग बिहे गर्ने भन्ने भयो । बिहे एउटै फिल्डको मान्छेसँग गर्नुपर्छ भन्ने लाग्थ्यो । फिल्मबाहिरका मान्छेसँग बिहे गर्दा समस्या हुन सक्छ भन्ने लाग्थ्यो । रञ्जित दाइ (रञ्जित गजमेर)सँग पनि राम्रो सम्बन्ध थियो । हाम्रो पारिवारिक सम्बन्ध थियो । त्यसैक्रममा ‘तुलसी र भारतीको बिहे गरिदिऊँ न’ भन्ने कुरा आयो । बिस्तारै एक–अर्कालाई बुझ्न थाल्यौँ र माया बस्दै गयो । मैले बिहेको कुरा राख्दा सुरुमा एक–दुई दिन केही बोलिनन् । पछि उनको जवाफ ‘मलाई थाहा छैन, तर हुन्छ होला’ भन्ने आयो । मलाई खासमा एकजना टेक्निसियन चाहिएको थियो । (हाँस्दै) टेक्निसियन नै श्रीमती भयो बेग्लै पैसा दिनु पनि परेन ।

फिल्म क्षेत्रमा लामो समय बिताउनुभयो । आफ्नो जीवनको सबैभन्दा ठुलो उपलब्धि के लाग्छ ? 
मेरो आमाले सधैँ आशीर्वाद दिनुहुन्थ्यो, ‘राजाले चिन्ने र प्रजाले जान्ने मान्छे हुनु ।’ सानै हुँदा त्यसको अर्थ खासै बुझ्दिनथेँ । पछि सोच्दा लाग्यो, फिल्म क्षेत्रमा गएपछि सायद त्यो सम्भव हुन्छ । राजाले पनि चिन्छ होला, प्रजाले पनि जान्छ होला । फिल्ममा काम गर्दै गएँ । एकपटक राजा ज्ञानेन्द्रबाट लाइफ टाइम एचिभमेन्ट अवार्ड लिन गएको थिएँ । दरबारमा कसरी बोल्ने, कसरी अघि बढ्ने भन्ने पनि थाहा थिएन । मलाई सिकाइयो, कसरी जाने, कसरी झुक्ने आदि कुराहरू । जब अवार्ड दिँदा राजाबाट केही प्रश्न आयो, तर म अलि अन्योलमा परेँ । हामी त सधैँ ‘सर’ भन्ने बानी, तर त्यहाँ ‘सरकार’ भन्नुपर्थ्यो । मलाई त्यसवेला अलि कठिन भयो । अवार्ड थापेर बाहिर निस्केपछि पत्रकारले सोधे, ‘कस्तो लाग्यो ?’ मैले भनेँ, ‘अरू केही होइन, मलाई उहाँले चिन्नुभयो, यही नै ठुलो कुरा हो ।’ त्यसपछि मैले तुरुन्त आमालाई फोन गरेर भनेँ, ‘आमा, आज मलाई राजाले चिन्नुभयो !’ त्यो मेरो लागि अत्यन्त विशेष क्षण थियो । पैसा र सफलता आफ्नो ठाउँमा छन् । तर, आमाको आशीर्वाद पूरा भएको अनुभूति नै मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो ।

तपाईंको जीवनमा अब म सक्दिनँ भन्ने कठिन क्षण कहिले आयो ?
एउटा घटनाले सधैँ बिझाइरहन्छ । यो घटना गढवाली फिल्म बनाउने ताका हो । मेरो लेखन, निर्देशन र सम्पादनमा त्यो फिल्म बन्दै थियो । सुटिङको अन्तिम दिन चलिरहेको थियो । घरबाट टेलिग्राममा खबर आयो, बुबा बित्नुभयो । त्यहीवेला सुटिङ छाडेको भए निर्माताको ठुलो नोक्सानी हुन्थ्यो । त्यसैले, मैले टेलिग्राम खल्तीमा राखेँ । चुपचाप दिनभरि सुटिङ गरिरहेँ । भोलिपल्ट गढवाल समाजले मलाई पहिलो गढवाली निर्देशक भनेर सम्मान गर्ने कार्यक्रम राखेको थियो । तर, बेलुका मैले सबैसँग माफी माग्दै भनेँ, ‘म भोलि आउन सक्दिनँ । किनकि, मेरो बुबाको निधन भयो ।’

उनीहरू छक्क परे । उनीहरूले सोधे, ‘टेलिग्राम कहिले आयो ?’ मैले भनेँ, ‘हिजो बिहानै आएको थियो ।’ उनीहरूले भनेँ, ‘त्यसैले त तिमी दिनभरि केही नखाई फलफूल मात्रै खाइरहेका थियौ !’ त्यतिवेला प्लेनको टिकट तुरुन्तै पाउन सजिलो थिएन । म र मेरो भाइ (श्रवण घिमिरे) अर्को दिन बिहान ६ बजे ट्रेन चढेर घरतिर लाग्यौँ । तीन दिनपछि कालिम्पोङ पुग्यौँ । त्यो समय मेरा लागि अत्यन्त गाह्रो थियो । घरमा बुबाको पार्थिव शरीर थियो । म सुटिङमा व्यस्त थिएँ । सुटिङ सक्ने वेलासम्म पनि मैले सबै सट ठिक छ कि छैन भनेर असिस्टेन्टलाई चेक गर्न लगाइरहेँ । सबै ठिक भएपछि मात्र ‘प्याकअप’ गराएँ । बुबा साथीजस्तै हुनुहुन्थ्यो । त्यसैले, सुटिङ गर्दै गर्दा वेला–वेलामा उहाँको सम्झनाले झस्काउँथ्यो, मन भत्काउँथ्यो । त्यो घटना मेरो जीवनको सबैभन्दा पीडादायक क्षणमध्ये एक हो ।

जीवनको सबैभन्दा खुसीको क्षण ?
धेरै क्षण छन् । सबैभन्दा खुसी पहिलो छोरी जन्मिँदा भएको थिएँ । हस्पिटलमा पहिलोपटक म र रञ्जित दाइ गएका थियौँ । डाक्टरले बेबी गर्ल भन्यो । हामी खुसी भयौँ । डाक्टरले हामीलाई हेरिबसेछ । डाक्टरले ‘आप लोग कौन  जात के हेँ ?’ भनेर सोध्यो । उसले भन्यो, ‘यो हस्पिटल सुरु भएको दिनदेखि छोरी जन्मिएको देख्दा यति खुसी भएको मान्छे कसैलाई देखेको थिइनँ ।’ भारतमा पहिलोपटक छोरी जन्मिँदा त्यसवेला भनिन्थ्यो, ‘कोइ वात नहीँ, दुसरा लड्का होगा ।’ त्यो क्षण जीवनको सबैभन्दा धेरै खुसी थिएँ ।

म जन्मिँदा तपाईं १० दिनसम्म पनि घरमा आउनुभएन रे ! त्यो दिन सम्झिँदा आज कुनै पछुतो लाग्छ ? 

त्यतिवेला म इलाममा ‘मितज्यू’को सुटिङमा थिएँ । सुटिङकै बिच तिमी जन्मिएको खबर आयो । ८०–९० जनाको ठुलो युनिट छाडेर तुरुन्त फर्किन सम्भव थिएन । त्यसैले, फोन गरेर ‘म छिट्टै आउँछु’ भनेँ । सन्तान जन्मिँदा छेउमै हुन सबैलाई इच्छा हुन्छ, मलाई पनि थियो । तर, त्यो अवस्थामा जिम्मेवारी ठुलो थियो, त्यसैले तत्काल घरमा आउन सकिनँ । सक्दो छिटो सुटिङ सकेर फर्किएँ । तिम्री दिदी जन्मिँदा भने म घरमै थिएँ, किनकि त्यतिवेला कामको चाप थिएन । तिमीलाई जन्मिनेबित्तिकै हेर्न नपाउँदा पछुतो त लाग्यो नि !

तपाईंले आफ्नो पूरै जीवन फिल्ममा बिताउनुभयो । यो उमेरमा पनि यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । अहिले आफ्नै छोरीहरू तपाईंले रोजेको बाटोमा आइरहँदा केही कुरामा डर लाग्छ ?
असफल हुँदा चारैतिरबाट गाली आउँछ । डर भन्ने कुरा असफलतासँग जोडिएको हुन्छ । सुरुमा मान्छे प्रशंसाले धेरै खुसी हुन्छ, जब पहिलोपटक आलोचना आउँछ, तब अलि आत्तिन्छ । पहिला मान्छे तालीमा एकदम खुसी हुन्छन् । जीवनमा ताली मात्रै भेटिँदैन । जिन्दगीको बाटोमा फटाहा जाली पनि भेटिन्छन् । यही अनुभवबाट बिस्तारै परिपक्वता आउँछ । तालीले मात्तिनु हुँदैन, गालीले आत्तिनु हुँदैन । मैले यो चरण फेस गरेको छु । जब यो अवस्था आउँछ, तब मात्रै मान्छेले जीवनका चुनौती सामना गर्न सक्छ । तर, तिमीहरूका हकमा भने एउटा मात्रै डर छ– तिमीहरूले प्रशंसा त पाउँछौ, तिमीहरूको कामलाई कसैले थुक्क नभनोस् भन्ने लाग्छ । तिमीहरूले पनि त्यस्तो काम नगर्नू, जसले गर्दा कसैले औँला उठाओस् । त्यसबाहेक अरू खास डर छैन । तिमीहरू सबै राम्रो संस्कारमा हुर्किएका छौ, सही बाटोमै छौ भन्ने विश्वास छ ।

तपाईंको फिल्मी जीवनमा सबैभन्दा बढी साथ कसले दियो ?
सबैभन्दा पहिला ‘रञ्जित दाइ (रञ्जित गजमेर)लाई सम्झिन्छु । रञ्जित दाइले फस्ट स्टेपदेखि साथ दिनुभयो । अहिलेसम्म हामी साथै छौँ ।

जीवनको संघर्षपूर्ण समय कुन थियो ? 
बम्बईमा बिताएका दिन नै संघर्षमय थिए । पाँच सय रुपैयाँमा बम्बई पुगेँ । मलाई एकजना मान्छेले भनेको थियो, बम्बई आउने हो भने ५०० रुपैयाँ मात्र बोकेर आउनू । ‘आई डोन्ट नो’ किन भनेको थियो । ती दिनमा स्ट्रगल धेरै थियो । भाग्यवश साथीहरू राम्रो भेट्टाएँ । तीन–चार दिन भोकै पनि बसियो । कैयन् रात सुतिएन ।

फिल्ममा तपाईं पहिला पात्र सोच्नुहुन्छ कि कथा ?
सानो घटनालाई विस्तार गर्दै लगेर पूर्ण कथा बनाउँछु । मैले तिमीहरूलाई ‘दर्पण छाया’को कथाको पृष्ठभूमि सुनाएको थिएँ । त्यो मेरो रियल स्टोरी थियो । त्यसमा ‘तृष्णा’ भन्ने पात्र ब्लाइन्ड थिइन्, त्यसलाई आधार बनाएर कथा निर्माण गरेँ । ‘दक्षिणा’को कथा पनि यस्तै प्रकारले बनेको हो, त्यो मेरो गुरुको कथा हो । मेरा धेरै फिल्मका पात्र वास्तविक जीवनबाट प्रेरित छन् । जुन तिमीहरूलाई पनि थाहा छ । ‘राते काइँला’ कालिम्पोङकै पात्र हो । त्यसैले, फिल्मकर्मीले आँखा र कान सधैँ खुला राख्नुपर्छ । वरिपरिका दृश्य मसिनो गरी नियाल्नुपर्छ ।

फिल्मको कथा कसरी छनोट गर्नुहुन्थ्यो ?
कुनै कथा दिमागमा आएपछि सबैभन्दा पहिले मेरो आमालाई सुनाउँथेँ । आमालाई कथा मन पर्‍यो भने ‘कस्तो राम्रो कथा रहेछ’ भन्नुहुन्थ्यो । आमालाई मन परेपछि त्यो कथामा काम अघि बढाउँथेँ । पन्च लाइन तयार पार्थेँ । बाटोमा हिँड्दै गर्दा कुनै रमाइलो क्यारेक्टर देखे उसलाई कथाभित्र समावेश गर्थें । ‘दर्पण छाया’को कथा पनि मैले आमालाई नै सुनाएर फाइनल गरेको थिएँ । त्यो कथा आमालाई निकै मन परेको थियो ।

‘दर्पण छाया’को स्क्रिप्ट फाइनल गर्दाको क्षण सुनाइदिनू न !
भारती (तिम्रो आमा) र मैले मिलेर स्क्रिप्ट लेख्यौँ । यो फिल्मको क्लाइमेक्स भने अलि जटिल थियो, किनकि यो त्रिकोणात्मक प्रेमकथा हो । अन्तिममा केटी कसको साथमा जान्छे ?  दुईजना केटामध्ये कसको मृत्यु हुन्छ ? यदि ब्लाइन्ड पात्रलाई मार्ने हो भने त्यो अन्यायजस्तो हुन्छ । त्यो पात्र झन् मायालु छ । त्यसैले उसलाई मार्नु उचित लागेन । दुईमध्ये कसलाई मार्ने भन्ने अन्योल पनि थियो । यही विषयमा छलफल चलिरहेको थियो । त्यही वेला भारतीले अचानक एउटा कुरा भनिन्, ‘दुवै पात्रलाई मार्नु हुँदैन ।’ अब केटीलाई कसरी मार्ने भन्ने कुरा आयो । सुरुमा विष खुवाएर मार्ने भन्ने सोच आयो । त्यसरी मृत्यु भएको देखाउनु हुँदैन भन्ने भयो । त्यसपछि कथामा नयाँ मोड थपियो । केटी पात्रलाई क्यान्सर भएको देखाइयो । यसरी भारती र मेरो छलफल र सहकार्यबाट कथाको अन्त्य तयार भएको थियो ।

तपाईंले निर्देशन गरेका फिल्ममा टप थ्री सेलेक्ट गर्दा कुन–कुन छान्नुहुन्छ ? 
‘दर्पण छाया’ छान्छु । किनकि, त्यो मेरो आफ्नो स्टोरीमा बनेको फिल्म हो । अर्को दुईचाहिँ ‘कुसुमे रुमाल’ र ‘दक्षिणा’ छान्छु ।

आफ्ना फिल्मको समीक्षा गर्दा कुनचाहिँ कमजोर लाग्छ ? 
‘रहर’ र ‘दुई किनारा’ अलि कमजोर लाग्छन् । समयभन्दा पहिले बनाएँ कि जस्तो लाग्छ । यी फिल्म सानो बजेटमा बनाउने कोसिस गरेको थिएँ । यी फिल्म बजेटअभावले भनेजस्तो बनाउन सकिनँ ।

लाहुरे, चिनो, दर्पण छायाजस्ता फिल्म बनाउने सपना अझै छ कि छैन ?
अहिले मार्केट राम्रो भएको छ । अब तीन–चार करोड रुपैयाँ लगानी गर्न सक्ने मार्केट भएको छ । केही सब्जेक्ट छन् माइन्डमा । हेल्थ वेल्थ ठिक रह्यो भने आई विल मेक । मेरो त्यो ड्रिम छ ।

मेरा साथीहरूले सोध्छन्, ‘तिम्रो बुबाको फिल्ममा जहिले पनि कुनै न कुनै क्यारेक्टरको मृत्यु हुन्छ ।’ यो मेरो पनि प्रश्न हो । किन यसो गर्नुहुन्छ ?
कुनै पनि समस्याको समाधान के कसरी गर्ने ? एउटा ‘थटफुल’ मोडमा छोडिदिनू भन्छ स्टोरीलाई । त्यो थटफुल मोड भनेकै कसैको नचाहँदा–नचाहँदैको मृत्यु हो । त्यो मृत्यु भयो भने मान्छेको थट त्यतापट्टि कुद्छ । ‘किन मार्‍यो ? त्यो डाइरेक्टरले जानेन । त्यसलाई नमार्नुपर्ने ।’ जब यी कुरा निस्किन्छन्, त्यो चाहिँ सक्सेस हो ।

तपाईंको आजसम्मका फिल्ममा महिला पात्र प्रमुख भूमिकामा छैनन् भन्ने सुनिन्छ । के यो सत्य हो ?
‘लाहुरे’मा तृप्ति नाडकरको स्ट्रङ क्यारेक्टर छ । ‘दक्षिणा’मा भारती घिमिरे धेरै स्ट्रङ क्यारेक्टर हो । ‘दर्पण छाया’मा निरुता सिंह स्ट्रङ क्यारेक्टरमा छिन् । म नारी पात्रलाई ग्ल्यामराइज गर्ने, ग्लोरिफाई गर्नेभन्दा पनि स्टोरीलाई बराबर हिसाबले प्रस्तुत गर्छु । नारी पात्रलाई प्रमुख बनाएर कुनै दिन फिल्म बनाउँला । फिल्ममा ससाना पात्रले पनि आफ्नो ठाउँ बनाएको हुन्छ । मेरो फिल्म पुरुषप्रधान पनि छैन नारीप्रधान पनि छैन । मलाई भिलेनचाहिँ स्ट्रङ बनाउन मन लाग्छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय