पछिल्लो समयमा मुटुरोगको अवस्था कस्तो छ ?
संसारभर नै मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । नेपालजस्तो निम्न र मध्यम आय भएको मुलुकमा मुटुरोगको प्रकोप झनै भयावह देखिन्छ । जीवनशैलीमा अस्वस्थ परिवर्तन, खानपानमा देखिने लापरबाही यो रोग बढ्नुको मुख्य कारण हो । नेपालमा पनि ७१ प्रतिशत मृत्यु नसर्ने रोगहरूका कारण हुने गरेको छ ।
किन मुटुरोग निम्न र मध्यम आय भएका राष्ट्रमा बढ्दै गएको होला ?
यस्ता राष्ट्रमा बसोवास गर्ने व्यक्तिहरूको खानपान गुणस्तरीय नभएको, धूम्रपान र मदिराको सेवन उच्च रहेको र आर्थिक रूपमा कमजोर भएको कारण मुटुरोगको जोखिम बढ्दै गएको हो । मधुमेह र उच्च रक्तचाप पनि यस रोगलाई बढाउने प्रमुख कारक हुन् । मानसिक तनाव, मोटोपना, शारीरिक गतिविधिमा कमी, वंशाणुगत कारण, अस्वस्थ आहार र वायु प्रदूषण पनि यसका मुख्य कारक हुन् ।
आर्थिक रूपमा कमजोर मानिसले ब्लडप्रेसर, सुगर, कोलेस्ट्रोलजस्ता समस्याको समयमै परीक्षण गरी पहिचान गराउन सक्दैन । उसले स्वच्छ र स्वस्थ आहार सेवन गर्न पाउँदैन । त्यसले गर्दा उसलाई मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्तिलाई मुटुरोग लागेको पहिचान भएमा पनि यसको उपचार खर्चिलो भएकाले उसले उपचार गराउन पनि सक्दैन । परिणामतः मुटुरोगकै कारण उसको मृत्यु हुने जोखिम बढी हुन्छ । साथै, यस्ता राष्ट्रमा मुटुरोगको उपचार सर्वसाधारणको सहज पहुँचमा पुग्न नसक्नु पनि अर्को समस्या हो ।
यसबाट बच्ने उपाय के हुन सक्छन् त ?
उल्लिखित कारणहरूको पहिचान र नियन्त्रण नै मुटुरोगबाट बच्ने उपाय हुन् । मूलतः हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्यो । कसैलाई ब्लडपे्रसर, सुगर, कोलेस्ट्रोल छ भने समयमै त्यसको उपचार गर्नुपर्यो । धूम्रपान र मद्यपानको लत छ भने त्याग्नुपर्यो । तौल घटाउनुपर्यो, व्यायाम गर्नुपर्यो । मुटुरोगका लक्षण छन् कि छैनन् भनेर पहिचान गर्न समयमै परीक्षण गराउनुपर्यो । स्वस्थ खानपानमा ध्यान दिनुपर्यो ।
